१० पुस २०८२, बिहिबार

अध्यक्ष नेपालले भने,‘गठबन्धनमा सामेल हुन सकिँदैन’

प्रकाशित मिति :  2 January, 2023 2:10 pm


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सामेल हुन आग्रह गरिरहँदा नेपालले सरकारमा सहभागि नहुने उल्लेख गरेका हुन् ।

आजदेखि काठमाडौंमा शुरु भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै नेपालले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसै सामु लत्रने पक्षमा नरहेको समेत उल्लेख गरे ।

मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरू अघि बढ्ने तर आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाई थियो ।

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नुपरेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले भने,“देशको राजनीतिक आफ्नै जटिलताहरु छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनैपनि शक्तिको पछि लाग्दैन । हामी आफ्नो देश अघि बढाउन चाहन्छौं । हामी देशको हीतलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौं ।”

अध्यक्ष नेपाले अहिलेको समय आरोप प्रत्यारोप गर्ने बेला नभएको समेत उल्लेख गरे ।

अध्यक्ष नेपालले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि चेतावनी दिए ।

आजदेखि शुरु भएको बैठकमा नेताहरुले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।



प्रतिक्रिया दिनुहोस !