संघीय कानुन निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या छ : पूर्वसभामुख घर्ती
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको बताएकी छन् ।
उनले कानून निर्माणमा पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । स्पिकर्स फोरम नेपालले आज काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् ।
नेतृ घर्तीले संघीय शासनप्रणालीको दोस्रो कार्यकाल शुरु भइसक्दा समेत संघमा आवश्यक कानून निर्माण हुन नसकेकाले आम सर्वसाधारणहरुलेसमेत समस्या व्यहोरिरहेको बताइन् । उनले संघीय कानून बनिसकेपछि मात्रै प्रदेश सभाको प्रभावकारिता बढ्ने बताइन् ।
उनले भनिन्,“दोस्रो कार्याकाल शुरु भइसक्दासमेत कानूनहरु निर्माण हुन सकेका छैनन् । संघका कानूनहरु नबन्दा सर्वसाधारणहरुले धेरै नै समस्या भोगिरहेका छन् । यसका कुरामा ध्यान दिनुपर्छ । त्यसपछि प्रदेश सभामा प्रभावकारिता छ । कानून त पहिला बन्नुपर्छ । जसको समस्या प्रदेश र स्थानीय तहले भोगिरहेका छन् । यसमा ध्यानाकर्षण गर्दछु ।”
पूर्व सभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिहरुले संसदमा गरिरहेका कार्यहरु हेर्न पाउनुपर्ने बताइन् । उनले जनता र जनप्रतिनिधिबीचको सम्बन्ध ५ वर्षमा घोट माग्न जानेकुरामा मात्रै सिमित हुनु नहुनेमा जोड दिइन् ।
संसदमा जनगुनासाहरुको सम्बोधन हुनुपर्ने पनि भन्दै पूर्वसभामुख घर्तीले जनप्रतिनिधिहरुले पद पाएपछि जनतासँग गरेका वाचाहरु भुल्नसक्ने र जनताले आफ्ना जनप्रतिनिधिहरुलाई झक्झकाइरहनुपर्नेमा जोड दिइन् ।








