पाँचथरमा आगलागी हुदाँ २ जनाको मृत्यु
प्रकाशित मिति : 4 January, 2023 11:54 am
पाँचचर । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।
गएराति साढे १ बजे मेखबहादुर गुरुङको घरमा आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।
आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरूको अवस्था सामान्य छ । उनीहरूको टाउको, हात र खुट्टामा आगोले पोलेको छ । घरमा सुतेका मध्ये ३ जनाले भागेर ज्यान बचाउन सफल भएको डिएसपी खतिवडाले जानकारी दिए ।
आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ। आगलागीबाट ५० लाख बराबरको धनमाल क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ। आगलागी भएको करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको डिएसपी खतिवडाले जानकारी दिए ।








