रोल्पामा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका सिजल नेकपा माओवादी केन्द्रमा फर्किए
काठमाडाैं । नेकपा माओवादी केन्द्रबाट राजिनामा दिएर प्रदेश सभा चुनाव लडेका रोल्पाका दिपेन्द्रकुमार पुन‘सिजल’ पार्टीमा फर्केका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएर रोल्पा प्रदेश सभा (ख)बाट चुनाव जितेका सिजलले आत्मालोचना गर्दै पार्टीमा फर्किएका हुन् ।
सिजललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेकोमा बधाई दिँदै प्रधानमन्त्री निवास बालुवाटारमा स्वागत समेत गरेका छन् ।
सिजलले अध्यक्ष प्रचण्डलाई सम्बोधनज गर्दै पुस १० गते पार्टी केन्द्रीय कार्यालयमा आत्मालोचना पत्र बुझाएका थिए ।
आत्मालोचना पत्रमा भनिएको छ,“ पार्टीको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजिनामा दिएर उम्मेदवार बनेकोमा पार्टीले पनि सबै जिम्मेवारीबाट निस्कासन गरेकाले म पुन : पार्टीमा फर्केर पार्टीको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”
गत मङ्सिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तत्कालीन कांग्रेस र माओवादी केन्द्र लगायतको गठबन्धनबाट रोल्पाबाट प्रतिनिधि सभा र प्रदेश सभा(क) मा माओवादी केन्द्र र प्रदेश सभा (ख)मा नेपाली कांग्रेसले पाउने गरी भागबण्डा भएको थियो ।
निर्णयप्रति असन्तुष्टि जनाउँदै पुनले स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपा माओवादी केन्द्रले उनलाई सबै जिम्मेवारी हटाएको थियो ।
कांग्रेससँगको गठबन्धन टुटेर नयाँ गठबन्धन सहित सरकार बनेपछि पुन फेरि नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् ।








