न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्य दलको बैठक जारी
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्य दलको बैठक सुरु भएको छ । शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको स्रोतले बताएको छ ।
आजको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
कार्यदलको बैठक बिहीबार पनि बसेको थियो । कार्यदलका एक सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।
साथै आजै उक्त मस्यौदा एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ ।
एमालेका उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल, नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा.मुलुक ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सो कार्य दलमा रहेका छन् ।
सरकारले यही पुस २६ गते विश्वासको मत हुनाले सो भन्दाअघि नै सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।








