१० पुस २०८२, बिहिबार

 वर्तमान सरकारको स्थिरता चुनौतिको विषयः महामन्त्री थापा

प्रकाशित मिति :  9 January, 2023 4:43 pm


काठमाडाैँ। नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतिको विषय भएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा भागलिन नयाँ बानेश्वरस्थित संसद भवन पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सरकारको स्थिरता चुनौतिको विषय भएको बताए।

थापाले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गरे । निर्वाचन अगाडी एउटा गठबन्धन र निर्वाचन पछि अर्को गठबन्धनको स्वरुप भएकाले पनि सरकारको स्थिरतामा चुनौति भएको उनको भनाई छ ।

महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्य रुपमा लिनुपर्ने पनि बताए। ”यो निर्वाचन प्रणालीबाट जस्तो खालको संसद बन्यो । योभन्दा अघिल्लो पटक पनि हामीले निर्वाचनभन्दा अगाडी गठबन्धन गरेर गइसकेपछाडी संसदभित्रको त्यो गठबन्धनलाई उहाँहरुले जोगाउन नसकेको कुराको साक्षी बसेर आएको हो,” उनले भने ।

”अहिले त झन निर्वाचनभन्दा अगाडी एउटा गठबन्धन, निर्वाचनको लगत्तैपछि अर्को गठबन्धन बनेर यो संसदको यात्रा प्रारम्भ भएको छ । सरकारमा बसिरहेको दलहरु एक ठाउँ टिकीराखेर बस्ने कुरा नै, सरकारको स्थिरताको कुरा नै एकदमै धेरै ठूलो चुनौतिको रुपमा लिएको छु,” उनले थपे, तर यो निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछाडी सरकारहरु यसरी बन्छन् । बदलिन्छन् भन्ने कुरालाई सामान्य रुपमा ”स्वीकार गर्नुप-यो ।”

महामन्त्री थापाले संसदको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधनले दुबैकाेबिचमा बिग्रहको बिजारोपण भएको टिप्पणी गरे। ओलीले अघिल्लो प्रतिनिधि सभा विघटनलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन भनेको भन्दै सो कुरा नै विग्रहको कारण बन्नसक्ने उनको भनाई छ ।

महामन्त्री थापाले सरकारले सरकारको भुमिका र प्रतिपक्षले प्रतिपक्षको भुमिका इमान्दारीतापूर्वक निर्वाह गरेमा संसदमा कुनैपनि समस्या नआउने बताए।



प्रतिक्रिया दिनुहोस !