५ जेष्ठ २०८१, शनिबार

पाटा नेपालद्वारा युवा सेफ प्रतियोगिता र कन्टेन्ट राईटिङ्ग प्रतियोगिता सम्पन्न

प्रकाशित मिति :  10 January, 2023 2:28 pm


काठमाडौँ । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले असीमित रचनात्मकता, स्थानीय सामग्रीको प्रयोग तथा स्वास्थ्य र दिगोपन पक्षलाई आत्मसाथ गर्दै “समसामयिक नेपाली पकवान“ शीर्षकमा काठमाडौँँको रविभवनस्थित नाथम कलेजमा युवा सेफ प्रतियोगिता सम्पन्न गरेको छ ।

मास्टरशेफ सन्तोष शाह, शेफ जितेन प्रधान र शेफ दिनेश होमागाईको निर्णायक मण्डलले सहभागी विद्यार्थीहरुको पाक कला र दक्षता को मूल्यांकन गरेको थियाे । निर्णायकहरूले युवा विद्यार्थीहरूले प्रदर्शन गरेको जोश, तयारी, रचनात्मक शैली र नवीन विचारहरूबाट प्रभावित भएको बताएका थिए ।

पाटा नेपाल च्याप्टरमा आबद्ध पाँच प्रमुख होटल व्यवस्थापन सदस्य शैक्षिक संस्थाहरु–आईएसटी, गेट, जीसीआई, प्रिमियर होटेल स्कुल र नाथमको प्रतिनिधित्व गर्दै भविष्यमा नेपाली शेफ बन्न चाहने उत्कृष्ट १० विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका थिए । उनीहरुले नेपालको विविध संस्कृति र क्षेत्रहरूबाट केही स्वादिष्ट एवम् मौलिक नेपाली व्यञ्जनहरूलाई प्रोफेशनल पाक कला र नयाँ रचनात्मक शैलीका साथ प्रस्तुतीकरण गरेका थिए ।

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) मा अध्यनरत श्रवण राई र रेश्मा श्रेष्ठले विजेताको रुपमा पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिताको उपाधि हात पारेका थिए ।

त्यसैगरी नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट–नाथम प्रतिनिधित्व गर्दै प्रसुन कुमार र बिजेन बिडारी प्रथम उपविजेता र प्रिमियर होटल स्कूल–पीएचएस प्रतिनिधित्व गर्दै राहुल धमला र शेर्या कान्डङवा द्वितीय उपविजेता घोषित भएका थिए । प्रतियोगितापछि मास्टरसेफ सन्तोष शाह र शेफ जितेन प्रधानले सहभागी विद्यार्थीहरूको लागि संक्षिप्त “मेंटरसिप सेशन“ समेत सञ्चालन गरेका थिए ।

त्यस्तै नेपाल उद्योग परिषंघका महानिर्देशक दीपकराज जोशीले कन्टेन्ट राईटिंग प्रतियोगिताको निर्णायकको रूपमा, “रिथिन्किंग टुरिज्म“ विषयमा लेखन प्रतियोगिता केन्द्रित रहने विषय घोषणा गर्दै सहभागी विद्यार्थीहरूबिच आधारभूत नियम र सुझावहरू पेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !