५ जेष्ठ २०८१, शनिबार

एघारौँ पोखरा महोत्सवको तयारी पुरा

प्रकाशित मिति :  10 January, 2023 2:43 pm


काठमाडौँ । एघारौँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । साेमबार युनाईटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुष २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौँ संस्करणको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

एघारौँ पोखरा महोत्सवको आम्दानीबाट पोखराको बिच भागबाट बग्ने सेती नदी खोंचलाई एक साहसिक पर्यटकीय गन्तब्य निर्माण र युनाईटेड क्लबको आफ्नै जग्गा पोखरा वडा नम्बर २६ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी नि: शुल्क शिक्षा प्रदान गर्ने गरी छात्राबास निर्माणलाई जोड दिइने क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार क्लबले लिएको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणलाई निरन्तरता दिइने छ । महोत्सवमा प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणको लागि छुट्याइने छ । १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने र दुई देखि दुईलाख पचास हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण ,पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती सँगै कृषिका गतिविधिहरु सञ्चालन हुने आयोजकले जनाएको छ।

महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका बालबालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाई निः शुल्क प्रवेश गराइने छ । महोत्सवमा गण्डकी प्रदेशका नव निर्वाचित गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीले उद्धघाटन गर्ने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !