१० पुस २०८२, बिहिबार

सहमति,सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध छु : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  10 January, 2023 3:19 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसदमा विश्वासको मत मागेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढ्ने नीति लिएको बताए ।

उनले राजनीतिक दलहरु मिल्दा मुलुक अगाडि बढेको र नमिल्दा संकटको सामना गर्नुपरेको तथ्य पनि स्मरण गराए ।

प्रधानमन्त्री दाहालले भने,“म यो सार्वभौम संसदमा सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्नका लागि उपस्थित भएको छु । प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि प्रतिवद्ध छु ।”

वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएको भन्दै १०४ वर्ष लामो राणा शासन होस् वा ३० वर्ष लामो पञ्चायती निरंकुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

१२ बुँदै समझदारी विस्तृत शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र सहकार्यकै परिणाम भएको भन्दै प्रचण्डले राष्ट्रिय संकटका संवेदनशील क्षणहरुमा पनि हामी राजनीतिक शक्तिहरु एकैठाउँमा उभिँदै आएको स्मरण गरे । उनले भने,“हामी मिल्दा देश अगाडि गएको छ । नमिल्दा देश संकटतिर गएको छ ।”

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधि सभाका सांसदहरुलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !