संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न मिल्दैन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताएका छन् ।
उनले प्रतिनिधि सभा विघटन प्रतिगामी थियो भन्ने महशुस अध्यक्ष ओलीले गर्नुभएको होला भन्ने सोचेपनि अझै आत्मलोचना हुन नसकेको टिप्पणी गरे ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाए ।
अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्नेकुरामा नलाग्न सचेत समेत गराए । उनले अध्यक्ष ओलीप्रति लक्षित गर्दै विदेशको कुरा ल्याएर संसदमा नअल्झाउन आग्रह गरे ।
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि विश्वासको मत दिने भनिसकेपछि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।
उनले अहिले आफूले आशा गरेकै व्यक्ति प्रधानमन्त्री भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जिकिर समेत गरे ।
नेपालले भने, “प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्नुपर्ने हतारो छ, हतार गरेर केही हुँदैन । प्रमुख प्रतिपक्ष दलले नै विश्वासको मत दिने भनेपछि अब झस्किनुपर्ने केही छैन । हामीले आशा गरेकै व्यक्ति प्रधानमन्त्री बनेपछि आत्तिनुपर्ने आवश्यक्ता छैन । तर ख्याल गर्नुपर्छ, संविधानप्रतिको प्रतिवद्धता छ की छैन, शंका गर्नुपर्ने कुरा त्यहाँ छ । किनभने यही रोस्टममा मैले सुने संसद विघटन गर्न पाइन्छ । यो मान्यता यो गठबन्धनको हो भने खतरनाक संकेत हो ।”
अध्यक्ष नेपालले अर्को सरकारको विकल्प हुन्जेलसम्म कसैको लहडको भरमा प्रतिनिधि सभा विघटन नपाउने स्पष्ट पारे ।








