५ जेष्ठ २०८१, शनिबार

सडकमा फोहोर गर्नेलाई महानगरले तिरायो पाँच हजार जरिबाना

प्रकाशित मिति :  11 January, 2023 11:54 am


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । सडकका ठाउँठाउँमा खटिएका नगरप्रहरी र सरसफाईकर्मीले जथाभावी फोहोर फाल्नेलाई तत्कालै जरिबाना तिराउने गरेका छन् ।

सडकमा जथाभावी फोहोर फाल्नेमा यहाँका वित्तीय संस्था अघि देखिएका छन् । मंगलबार मात्रै ग्लोबल आईएमई बैंकलाई अहिलेसम्मकै धेरै पाँच हजार रुपैयाँ जरिबाना तिराईएको छ । पुरानो बसपार्क नजिकै रहेको बैंकले सडकमा असरल्ल पारेर फोहोर फालेकाले जरिबाना गराइएको महानगरका सरसफाई तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए ।

यस्तै शिखर इन्स्योरेन्सलाई १ हजार ५ रुपैयाँ र महालक्ष्मी फ्लावर पसललाई ५ सय रुपैयाँ जरिवाना गरिएको संयोजक खेतानले बताए । फोहोरको प्रकृती र मात्राको आधारमा जरिबाना गर्ने गरिएको पनि उनले जानकारी दिए ।

पहिलो चरणमा सचेत अभियान चलाइएको भए पनि अटेर गरेर सडकमै फोहोर फाल्न नछाडेपछि अब जरिवाना गर्न लागिएको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँ बताउँछन् । ”सडकमा जथाभावी फोहोर नफालौँ भनेर माइकिंग गर्नुका साथै संचारमाध्यमबाट प्रचार प्रसार पनि गरियो, स्थलगत रुपमै पनि सचेतना अभियान चलाईयो,’ उनले भने, ”तर पनि अटेर गरेपछि बाध्य भएर जरिवाना तिराउन थालेका हौँ ।”



प्रतिक्रिया दिनुहोस !