५ जेष्ठ २०८१, शनिबार

विविध कार्यक्रमसहित मनाइयो पृथ्वी जयन्ती 

प्रकाशित मिति :  11 January, 2023 5:24 pm


काठमाडाैँ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती काठमाडौंमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । काठमाडौँसहित देशभर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित पार्टीका अन्य नेताहरुले सिंहदरबारको मुलद्वारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए । वि।सं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न सफल भएका थिए ।

पृथ्वीनारायणको शेषपछि उनकाे उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ । (वि।सं.१७७९–१८३१) शाहवंशीय राजा पृथ्वीनारायण शाहले स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गरेका थिए । आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

नेपालमा २००७ सालको क्रान्ति पश्चात नेपालमा आएको प्रजातन्त्र पश्चात योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया शुरु गरेका थिए । पृथ्वीनारायण शाहले स–साना क्षेत्र (भीरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायण शाहले शुरू गरेकाे एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म बिस्तार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !