१० पुस २०८२, बिहिबार

नेसनल प्याब्सनले मनायाे २५ औं स्थापना दिवस एवं रजत महोत्सव

प्रकाशित मिति :  12 January, 2023 2:23 pm


काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले आफ्नो २५ औं स्थापना दिवस तथा रजत महोत्सव मनाएको छ ।

बुधबार राष्ट्रिय सभा गृहको हलमा कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा रजत महोत्सव मनाएको हो ।

रजत महोत्सवको अवसरमा नेशनल प्याब्सनले सातै प्रदेशबाट समेटी राष्ट्रिय लोक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।

देशभरीका नेशनल प्याब्सनमा आवद्ध विद्यालयहरूबाट जिल्ला, प्रदेशमा प्रतियोगिताबाट छनोट भई आएका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गरिएको थियो ।

राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा बोल्दै मन्त्री अब्दुस खानले एन प्याब्सनले गुणस्तरीय शिक्षामा योगदान दिएको र सरकारले संस्थागत विद्यालयहरुसँग सहकार्य गरेर आउँदा दिनमा अगाडी बढ्नुपर्ने धारणा राखे ।

उनले उच्च शिक्षाका लागि नेपालबाट विदेश अध्ययनमा जाने आम विद्यार्थीहरूलाई रोक्दै विदेशबाट विद्यार्थी आउने वातावरण सृजना गर्न हामी सबै सरोकारवाला लाग्नु पर्ने र यो विषय मन्त्री परीषद्मा समेत छलफल भइरहेको बताए ।

विशिष्ट अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहले गरिबका छोरा छोरीले पनि पढ्न पाउने विद्यालयको आवश्यक रहेको बताउँदै पैसा हुनेले निजीमा पढाएपनि गरिबका छोरा छोरी पढ्न निशुल्क र अनिवार्य शिक्षालाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।

सरकारले संस्थागत विद्यालय र सार्वजनिक विद्यालय बिच विभेद गरेको बताउँदै यसका लागि विकसित देशहरुले अपनाएको नितीलाई हेर्न सुझाव दिए ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले शिक्षाको २५ प्रतिशत क्षेत्र निजीले ओगटेको बताउँदै निजी विद्यालय र सार्वजनिक विद्यालय एक अर्काको पूरक रहेको बताए । उनले संविधिानमा तीन खम्बे नीति उल्लेख गरीएकोले निजी र सार्वजनिक विद्यालय एक आपसमा सहकार्य गरेर बढ्नु पर्नेमा कुरा सबै सरोकारवाला लाग्नु पर्ने बताए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले निजी वा सामुदायिक जुन भएपनि राम्रो गरेको कुरालाई राम्रो भन्नु पर्ने बताउँदै जिवन यापन गर्न सक्ने शिक्षा नै आजको मुख्य आवश्यक रहेकोले बताए ।

उनले संविधानमा निशुल्क र अनिवार्य शिक्षा भनिएकोले राज्यले त्यतातिर ध्यान दिनुपर्ने कुरामा जोड दिनुको साथै सामुदायिक विद्यालयमा पढाउने शिक्षक तथा सरकारी कर्मचारीले पनि आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमा नपढाई निजी स्कूलमा पढाउने गरेको बताउँदै यो विषयलाई सबैले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिए ।

हिसानका अध्यक्ष रमेश सिलवालले शिक्षा राम्रो भए राष्ट्र राम्रो हुने बताउँदै निजी क्षेत्रको लागानी राज्यले संरक्षण गर्नुपर्ने बताए ।

उनले भने “७.३२ प्रतिशत जिडिपी बढाउन निजी शैक्षिक संस्थाको ठूलो भूमिका रहेकोछ । यसलाई राज्यले बुझ्न आवश्यक छ । त्यसकारण निजी शैक्षिक संस्थालाई संरक्षण गरे मात्रै देशमा शिक्षाको विकाससँगै देशको पनि विकास हुन्छ ।”

विकसित देशहरुमा निजी र सरकारी साझेदारी गरेर जाने गरेको बताउँदै नेपालमा निजी विद्यालयलाई वास्तै नगर्ने र गलत दृष्टिकोणबाट हेर्ने गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाको भनाई थियो ।

उनले समग्र शिक्षा क्षेत्रको विकाससँगै सार्वजनिक विद्यालयको विकासका लागि सहकार्य गर्न तयार रहेको धारणा राखे । “शिक्षा र स्वास्थ्यको सवालमा कुनै पनि दलले वास्ता नगरेकै कारण आज उच्च शिक्षाका नाममा वार्षिक २ सय अर्ब बढीभन्दा बढि धनराशी बाहिरिएको छ, यसलाई रोक्नुपर्छ” ढुंगानाले भने ।

नेसनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष पाण्डव हमालले शिक्षा क्षेत्रमा नेशनल प्याब्सनको ठूलो योगदान रहेको बताउँदै निजी क्षेत्रको मुद्दाका सवालमा राज्यको ध्यान जान आवश्यक रहेको बताए । निजी क्षेत्र सामुदायिक विद्यालयको बाधक नभई सहयोगीको रुपमा रहेको र यसका लागि हातेमालो गरेर अगाडी बढ्न आवश्यक रहेको उनको भनाई थियो ।

नेशनल प्याब्सन केन्द्रीय समितिका सह अध्यक्ष सुवास न्यौपानेले आज विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक रहेको बताउँदै निजी क्षेत्रले गुणस्तरीय शिक्षा दिन सफल भएको भनाई राखे ।

उनले २१ औं शताब्दिमा शिक्षालाई जिवन, जगत र प्रविधिसँग जोड्न आवश्यक रहेको र यो चुनौतीका रुपमा रहेको बताए ।

उनले भने “जिवनसँग जोड्ने भनेको जिवन उपयोगि सिप सहितको शिक्षा, संस्कार सहितको शिक्षा हो । त्यस्तै जगतसँग जोड्ने भनेको इकोसिस्टमसँग शिक्षालाई कसरी जोड्न सकिन्छ भन्ने कुरा पनि हो । हाम्रा बालबालिकाले इकोसिस्टमलाई बुझन आवश्यक छ । यसो गर्न सकिएन भने अझै आजकोभन्दा पनि ठूला चुनौती देखिने छन् ।”



प्रतिक्रिया दिनुहोस !