७ बैशाख २०८१, शुक्रबार

नेकपा एसमा प्रवेश गर्दै घनश्याम भुसालले भनेः ओलीबाट कम्युनिष्ट आन्दोलन संकटमा पर्‍यो

प्रकाशित मिति :  13 January, 2023 9:30 pm


काठमाडाैँ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नुभएका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अफठ्यारोमा पर्दै गएको दाबी गरेका छन् ।

एमाले परित्याग गरेको केही समयपछि शुक्रबार काठमाडौँमा एक कार्यक्रमबिच एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेका भुसालले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हाबी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताएका हुन् । नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत बताएका थिए । आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उनकाे भनाइ थियो ।

नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डलले दीपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नुपरेको स्पष्टिकरण समेत दिए।

उनले भने, “कमरेड ओलीका कारणले, ओलीवादले, ओली विचार, ओली सिद्धान्त, ओली संगठन । संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्डमा जे गरियो, त्यस्तै संगठन हुन्छ । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । यो उनकाे सिद्धान्त रह्यो । विचार के हो भन्दा सर्वत्र म । बस् यो विचार हो । यो सिद्धान्त हो, संगठन हो । यो ज्ञानमाथि, विज्ञानमाथि, तर्कमाथि, प्रमाणमाथि ओलीवाद हाबी भएका कारणले आज कम्युनिष्ट आन्दोलन अफठ्यारोमा पर्दै गयो । यो कुनै गालीगलौज गरेको छैन । बहस गर्छ कसैले ? म बहस गर्न तयार छु । बहस गर्दै पनि आएको छ । कसैले यस विषयमा बोलेको पनि छैन । यस अर्थमा एक हिसाबले भन्ने हो भनेदेखि यो कुरा सबैले बुझेका पनि छन् कि बिग्रेको यही कारणले हो भन्ने सबैले बुझेका छन् भन्ने पनि मलाई लाग्दछ । र, यस्तो अवस्थामा स्वंयम म नेकपा (एमाले) मा रहन सकिन । धेरैले भन्छन्–किन छोडिस् ? मैले भनेको छु कि मेरो निर्वाचन क्षेत्रमा अर्को कसैलाई उठाइँदैछ मलाई थाहा छ । थियो । र, मैले सबैलाई भनेको थिए कि मलाई उम्मेदवारी दिइँदैन । यो सामान्य कुरा थियो । तर मैले अघिल्लो चुनावमा हराएका मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा पनि म सहेर बस्नु हो भने जिउँदै बस्नुपर्छ कि पर्दैन ? भन्ने कुरा जो सुकैले पनि सोच्ने कुरा हो जस्तो लाग्दछ मलाई । त्यसो हुँदा मैले त्यसको सिम्पली प्रतिवाद गरेको हुँ । यसर्थ मैले त्यो छोडेर हिँडेको हुँ ।”

नेता भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँडने बाहेक एमालेका नेताहरुले केही पनि गर्न नसकेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !