बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण
काठमाडाैँ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकले प्रदान गर्दै आएको बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रवार महासंघको पदाधिकारीहरुको टालीले उप्रधान तथा अर्थमन्त्री पौडेललाई मन्त्रालयमा भेटेर बैंकले प्रदान गर्दै आएको बिना धितो कर्जा १५ लाखबाट वृद्धि गरेर २५ लाख बनाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
महासंघका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै बैंकको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने माग राखे । उनले भन्सार दरबन्दीको महँगीका कारण बजार मूल्य बढेकाले भन्सार दरबन्दी घटाउन सुझाव दिए। ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिनु पर्नेमा अध्यक्ष कार्कीकाे जाेड छ । बैंकको कर्जा ड्रावल्टमा भइरहेको झन्झटिलो प्रक्रियाको अन्त्य गर्नुपर्ने उनकाे भनाइ छ । उनले बैंकले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचनालाई ६ महिना समय कायम गर्नुपर्ने बताउनु भयो ।
व्यापार व्यवसायीको लागि वैज्ञानिक भाडादर कायम गर्न माग गरिएकाे छ । केरुङ, खासा लगायत चिनियाँ नाकामा नेपाली व्यवसायीलाई सहज रुपमा जान पाउनुपर्ने व्यवस्था गर्न माग महासंघले गरेकाे छ ।
महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंकहरुले व्यवसायीहरुलाई आत्माहत्या गर्नुपर्ने अवस्थामा पु-याएको भन्दै अर्थमन्त्रीसँग गुनासो गरिन् । उनले साना व्यवसायीहरुलाई बैंकले रोयर बस्नुपर्ने अवस्था बनाएकाले महासंघले उठाएका ३ वटा माग सम्बोधन गर्न आग्रह गरिन्।








