विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन
काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशित गरेको छ।
मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरेको छ। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ। बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ।
पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ। साथै सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्न निर्देशन दिने समेत बैठकले निर्णय गरेकाे छ। त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेको छ।








