स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने मन्त्री गिरीकाे प्रतिबद्धता
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर आज कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए ।
उनले सबै पालिकाहरुमा निर्माणाधिन अवस्थामा रहेका अस्पतालहरुमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा पनि ध्यान दिइने बताए ।
मन्त्री गिरीले जनताहरुले गुणस्तरीय सेवा लिन सकुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि रफ्तारमा काम अगाडी बढाउने बताए ।
उनले भने,“सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आम नेपाली जनताको, खासगरी सिमान्तकृत जनताहरु, उपेक्षामा परेका जनताहरु, पछाडी परेको जनताहरु, विपन्न जनताहरुसम्म स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नेकुरा हाम्रो मुख्य चुनौति हो । त्यो पूरा गर्नेगरी हामीले सम्पूर्ण ध्यान त्यसमा केन्द्रित गर्छौं । अहिले सबै पालिकाहरुमा ५ देखि १५ बेडसम्मका अस्पतालहरु निर्माणको प्रक्रियामा छन् । त्यहाँ आवश्यक जनशक्तिहरु व्यवस्थापन गर्नुपर्ने होला । इक्वीपमेण्टहरुको व्यवस्थापन गर्नुपर्ने होला । गाउँका जनताले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सकुन् । हाम्रो चाहाना त्यो हुन्छ ।”
मन्त्री गिरीले स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताए । उनले सबै नागरिकहरुलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने उल्लेख गरे ।
नेपालमा शिक्षा, स्वास्थ्यमा विकराल समस्या रहेकाे र गरिब जनताको पहुँचभन्दा बाहिर भएकाे उल्लेख गरे ।
उपचार नपाएर मर्नुपर्ने स्थिति छ रहेकाे उल्लेख गर्दै स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन कसरी गर्न सकिन्छ ? यसका कहाँ कहाँ के के समस्याहरु छन् ? ति समस्याहरु पनि हामीले बुझेर स्वास्थ्य बीमालाई अझै फराकिलो बनाए लिएर जाने मन्त्री गिरीकाे भनाइ छ ।






