मधेशका मुख्यमन्त्री यादवले पाए पूर्ण विश्वासको मत
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट पूर्ण विश्वासको मत पाएका छन् । बुधवार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा उपस्थित १०२ सांसदले नै विश्वासको मत दिएका हुन् ।
१ सय ७ सदस्यीय प्रदेशसभामा १ सय २ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए । १ सय ७ प्रदेशसभा सदस्य हुनुपर्नेमा माओवादीका २ प्रदेशसभा सदस्यको शपथ विवादका कारण रोकिएकाले हाल १ सय ५ जना सदस्य मात्र छन् । मतदानमा सहभागी भएका १ सय २ जना प्रदेशसभा सदस्यहरूले विश्वासको मत दिएपछि सर्वसम्मतले विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र प्रदेशसभा सदस्यहरूले विश्वासको मत दिए । मुख्यमन्त्री यादवलाई जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरूले विश्वासको मत दिएका छन् ।
यादव ६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।








