उपसभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
प्रकाशित मिति : 20 January, 2023 7:22 am
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ ।
आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ । आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।
भोलि माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा बैठकमा मतदान हुनेछ । बिहिबार सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । रास्वपाले सोविता गौतमलाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।








