१० पुस २०८२, बिहिबार

मुलुकमा कुनैपनि प्रकारको सैन्य गतिविधि हुन दिदैनौं : पूर्वप्रधानमन्त्री ओली

प्रकाशित मिति :  20 January, 2023 4:45 pm


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कुनैपनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताएका छन् ।

राष्ट्रको अहीत हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनैपनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन दिन नहुने पूर्व प्रधानमन्त्री ओलीको भनाई थियो ।

नेकपा (एमाले) परराष्ट्र मामिला विभागले शुक्रवारदेखि काठमाडौंमा शुरु गरेको दुई दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले दुई छिमेकी मुलुक भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोराए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्परिक लाभ र पारस्परिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने चाहेको समेत स्पष्ट पारे ।

उनले भने,“हामीले पहिलो कुरा दुई वटा छिमेकीसँग कार्ड खेल्ने होइन भनेर हामीेले भनेका छौं । एउटाको कार्ड अर्कातिर, अर्कोको कार्ड अर्कातिर होइन । सन्तुलित, विश्वसनीय, भरपर्दो, बाहिरबाहिर एउटा भित्रभित्र अर्को क्रियाकलाप, मुखले एउटा व्यवहारले अर्कै अभ्यास त्यस प्रकारको होइन । भरपर्दो, विश्वसनीय, जे भनिन्छ, त्यो गर्ने एउटाको हीत, अर्कोको अहित नगर्ने ।”

अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि वाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताए ।

रोजगारी प्रवद्र्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरुका लागि वाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले सीमा समस्यालगायतका समस्याहरु समाधान हुने गरी परराष्ट्र नीति सञ्चालन गर्न लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।

उनले भने,“हामीलाई देशभित्र शान्ति चाहिएको छ । हामीलाई विकास निम्ति अनुकुल वातावरण चाहिएको छ । हामीलाई विकासका प्रयासहरुलाई तिब्रताका साथ अगाडि बढाउनुपर्नेछ । हाम्रो स्रोत साधनहरुलाई त हामी केन्द्रित गरौँला, प्रयोग गरौँला । अपर्याप्त भएका ठाउँमा बाह्य सहयोग अथवा लगानी आवश्यक पर्छ । त्यो हामीले उपयुक्त ढंगले प्राप्त गर्नुछ । हामीले आफ्नो व्यापार धेरै असन्तुलित अवस्थामा छ । त्यो व्यापारलाई सन्तुलित अवस्थातर्फ फर्काउन ध्यान दिनुपर्नेछ ।”

अध्यक्ष ओलीले मुलुकमा विकासलाई तिब्रता दिएर अघि बढन सहज हुने गरी परराष्ट्र नीति अवलम्वन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !