उपसभामुख पदमा राना र यादवको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् ।
शुक्रवार अपरान्ह संघीय संसद भवन पुगेर उनले सत्तारुढ दलहरुको समेत समर्थनमा उपसभामुख पदमा उम्मेदवारी दिएकी हुन् ।
सांसद रानामगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र समर्थकमा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठ, माओवादी केन्द्रका सांसद नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन रहेका छन् ।
यस्तै नेपाली काँग्रेसकी सांसद मुक्ताकुमारी यादवले पनि प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् ।
नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डे प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्ला यादवको समर्थक रहेकी छन् ।
यादवलाई काँग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय जनमोर्चासहितका विपक्ष दलहरुको समर्थन छ । उपसभामुख पदको निर्वाचनका लागि माघ ७ गते प्रतिनिधि सभा बैठक बोलाइएको छ ।








