१० पुस २०८२, बिहिबार

उपप्रधानमन्त्री पद हटाउने प्रस्ताव गरिसकेको छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

प्रकाशित मिति :  21 January, 2023 7:44 pm


काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री पद हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भएपनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री पद हटाएपनि तयार रहेको बताए ।

उनले उपप्रधानमन्त्री पद सबैभन्दा पहिला आफ्नैबाट हटाउन शुरु गरेपनि तयार रहेको बताए ।

गृहमन्त्री लामिछानेले भने,“उपप्रधानमन्त्रीहरु बन्दै गएका कुराहरु छन् । यसले थप भार पार्ने भन्दापनि गठबन्धनबाट गर्ने भनिएको हो । हटाउने भएपनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन । अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ । मैले प्रश्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन ।”

गृहमन्त्री लामिछानेले आफूले सरकारबाट काम गर्दा नतिजा निकाल्नेगरी काम गर्नेपनि बताए । उनले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने पनि बताए ।

उनले भने, “हामी नतिजा निकाल्ने गरी काम गर्छौं । प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन आफ्नो व्याख्या हो । विज्ञप्ती जानकारीका लागि गरिएको हो । के भइरहेको छ भन्ने जानकारी दिन आवश्यक्ता दिनुपर्ने भएकाले हो ।”

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन् । शनिवारको संसद बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो ? भन्दै प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस !