१४ बैशाख २०८१, शुक्रबार

धरान उपमहानगरपालिकाले घर भत्काउँदा स्थानीय र प्रहरीबिच झडप

प्रकाशित मिति :  22 January, 2023 1:51 pm


काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएको अवैध संरचना हटाउन थालेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि आज उपमहानगरले डोजर चलाएको छ ।

आज बिहान धरान उपमहानगरपालिबाट आएको टोलीले धरान ५ स्थित बहु जातीय खेल मैदान नजिकै बनेको घर भत्काएको हो । अवैध रूपमा खोलाको उकास क्षेत्र ओगटेर बनाइएको भन्दै खेल मैदान नजिकै रहेको सनिबोटे तथा अधेरी खोलाको किनारामा बनेको अर्ध पक्की घर उपमहानगरको डोजरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोलीले भत्काइएको हो ।

डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाबिच झडप हुँदा केही व्यक्ति सामान्य घाइते बनेका छन् । उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ ।
पूर्व वडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीयको विरोधका बावजुत भत्काइएको उक्त घर भत्काउने क्रममा सामान्य झडप भएको थियो । झडपमा स्थानीयले गरेको ढुङ्गा प्रहारबाट उपमहानगरपालिकाको डोजरका सिसाहरू फुटेका छन् भने झडपमा एक जना स्थानीय घाइते भएको बताइएको छ ।

पहिला देखि नै उक्त जग्गाको भोगचलन गर्दै आएको भन्दै स्थानियले खोलाको भाग सिमांकन गर्नुपर्ने पनि माग राखेका थिए । उनीहरूले नगर प्रमुख हर्क साङपाङ फिल्डमा आएर स्थानीयसँग छलफल गर्नुपर्ने समेत बताएका थिए ।

यस अघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरी सहितको टोली जेसीवी लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।

धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातीय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास बस्न थालेकोले र पटकपटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।



प्रतिक्रिया दिनुहोस !