विमान दुर्घटनामा मृत्यु भएका पत्रकार पौडेलको स्मृतिमा अक्षयकोष स्थापना
काठमाडौँ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्षसमेत रहेका स्वर्गीय पत्रकार पौडेलको स्मृतिमा अक्षयकोष खडा गर्ने निर्णय गरेको हो ।
१० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।
प्रदेश कमिटीले ५ लाख रूपैयाँ तत्काल कोषमा जम्मा गर्ने र बाँकी ५ लाख रूपैयाँ प्रदेशअन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकसँग समन्वय गरेर जुटाउने जनाएको छ ।
अक्षय कोषबाट कार्यविधि बनाएर हरेक वर्ष गण्डकी प्रदेशभरका पत्रकारमध्येबाट एकजनालाई पुरस्कृत गर्ने बताइएको छ ।








