८ जेष्ठ २०८१, मंगलबार

प्रदेश ५ : दाङका स्वास्थ्यकर्मीको चिन्ता, बाँकेमा लकडाउन उल्लङ्घन गर्नेलाई लठ्ठी

प्रकाशित मिति :  8 April, 2020 2:58 pm


दाङ, २६ चैत ।

विश्वभर कोरोना भाइरसको त्रास छ । नेपालमा पनि कोरोना भित्रिएकाले उच्च सतर्कता अपनाउँदै सरकारले लकडाउन गरेको छ । यस्तो अवस्थामा स्वास्थ्य संस्थाको भूमिका महत्वपूर्ण हुन्छ ।

कोरोना सङ्क्रमण थप फैलिन नदिन तथा रोकथामका लागि दाङका स्वास्थ्यचौकीले पनि आपत्कालीनबाहेक अन्य सेवा बन्द गरेका छन् तर नागरिक भने समान्य समस्या हुँदा पनि अस्पताल जान छोडेका छैनन् । सामान्य खालको बिरामी पर्दा सर्वसाधारण स्वास्थ्य संस्थामै आउने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढेको शान्तिनगर गाउँपालिका–२ स्थित स्वास्थ्यचौकी बाघमारेका प्रमुख कमल भण्डारी बताउनुहुन्छ । कोरोना सङ्क्रमणको त्रास भएको अवस्थामा त्यससँग सम्बन्धित लक्षण देखिएमा तथा अन्य आपत्कालीन बिरामीलाई मात्रै स्वास्थ्यचौकीले हेर्ने गरेको उहाँको भनाइ छ ।

मुलुकमा कोरोनाको सङ्क्रमण बढिरहेको र यसलाई नियन्त्रणका लागि लकडाउन गरेको भए पनि धेरै नागरिक एकै पटक स्वास्थ्य संस्थामा आएर भीडभाड गर्ने र सामाजिक दूरी पालना नगर्ने समस्या रहेको दङ्गीशरण गाउँपालिकास्थित इलाका स्वास्थ्यचौकी हेकुलीका प्रमुख टेकबहादुर खत्रीले बताउनुभयो । सामान्य खालका बिरामीलाई उपचार नहुने भनेर सम्झाएर पठाउँदा झनै आक्रोश पोख्ने गरेको बबई गाउँपालिका–३ स्थित स्वास्थ्यचौकी पञ्चकुलेका प्रमुख हेमराज वलीले गुनासो गर्नुभयो । बिरामीहरु बिगतभन्दा तुलनात्मक रुपमा थोरै आउने भएकाले थोरै जनशक्तिले काम गरिरहेको स्वास्थ्यचौकी बाघमारेका इन्चार्ज कमल भण्डारीको भनाइ छ ।

स्वास्थ्यचौकीमा उचित आवासको व्यस्था नहुँदा घरबाटै स्वास्थ्य संस्था आउने जाने गर्नु परेका कारण जोखिम बढेको इलाका स्वास्थ्यचौकी बाघमारेका प्रमुख टेकबहादुर खत्रीले बताउनुभयो ।

विजयनगरका स्वयमसेविकालाई प्रोत्साहन भत्ता

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिकाले स्वयम्सेविकालाई प्रोत्साहन भत्ता दिने भएको छ । सरकारले लगाएको लकडाउन अवधिभर गाउँघरमा खट्ने स्वयम्सेविकालाई प्रोत्साहन भत्ता दिने गाउँपालिकाले निर्णय गरेको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि स्थानीयको अवस्था बुझ्न गाउँ तथा टोलमा स्वयम्सेविकालाई खटाएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । गाउँपालिकामा रहेका ६७ जना स्वेयम्सेविकालाई प्रतिव्यक्ति रु पाँच हजार प्रोत्साहन भत्ता र रु ५०० मोबाइल खर्च दिइने भएको हो । गाउँभित्र रहेका नागरिकको स्वास्थ्य अवस्था थाहा पाउन स्वेयम्सेविकाका कारण सहज भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ अधिकारीले बताउनुभयो ।

नवलपरासीमा तीन कैदीबन्दी रिहा

नवलपरासी– कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि पश्चिम नवलपरासीमा कैदीबन्दी रिहा गर्न थालिएको छ । जिल्ला अदालतको आदेशानुसार कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दैै तीन जना कैदीबन्दीलाई रिहाइ गरिएको जिल्ला कारागार परासीले जनाएको छ ।

कोरोना भाइरसले विश्वभरी महामारीको रुप लिएपछि सर्वोच्च अदालतको निर्णयमा कैदीबन्दीको निवेदन र जिल्ला अदालतको आदेशमा उनीहरुलाई छाडिएको कारागारका जेलर जगत बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार रिहा हुनेमा पश्चिम नवलपरासीको सुस्ता–२ का प्रमोद अमात्य (प्रवीन), रुपन्देही देवदह–७ का ताराप्रसाद पाण्डे र मालती भर रहेका छन् । तीनै जना लागुऔषध मुद्दामा सजाय भोगिरहेका थिए ।

रिहाइका लागि आठ जना कैदीबन्दीले निवेदन दिएको बताउँदै जेलर बस्नेतले भन्नुभयो, “मुलुकी फौजदारी संहीता कार्यविधि–२०७४ को दफा १५५ अनुसार एक वर्षसम्म कैद बाँकी रहेका कैदीबन्दीको रकम लिई उपयुक्त देखिए जिल्ला न्यायाधीशको इजलासबाट छाड्ने व्यवस्था मिलाउन सर्वोच्चले निर्णय गरेपछि सोहीअनुसार उनीहरुलाई छाडिएको हो ।”

अदालतको आदेशमा एक वर्षभन्दा कम समयको कैद सजाय पाएका ती कैदीबन्दीलाई छाडिएको उहाँले बताउनुभयो । मालती भरले एकवर्ष तथा अमात्य र पाण्डेले छ÷छ महिनाको कैद सजाय भोगिरहेका थिए । महिला र पुरुष गरी १७५ क्षमताको नवलपरासी कारागारमा अहिले ४०४ कैदीबन्दी रहेका छन् । ६४ महिला र आश्रित बालक एक जना तथा ३३९ पुरुष कैदीबन्दी छन् । एकैठाउँमा धेरै मानिस हुँदा कोरोनाको जोखिम बढ्नसक्ने भएकोले कारागारमा पनि उच्च सतर्कता अपनाइएको कारागार प्रशासनले जनाएको छ ।

पाल्पाको कालीगण्डकीे पुलबन्द

पाल्पा– पाल्पाको रामपुर नगरपालिका–६ र चापाकोट नगरपालिका–८ जोड्ने कालीगण्डकीको सोमरा प्याक्लुक झोलुङ्गे पुल बन्द गरिएको छ । लकडाउनको समयमा रातको समयमा लुकीछिपी पुलबाट नदी वारपार गर्ने क्रम बढेपछि स्थानीयले आवतजावत रोक्न पुल बन्द गरेका हुन् । कोरना भाइरस सङ्क्रमणबाट जोगिन समायोजन दूरी कायम गरी एकान्तबास बस्न आग्रह गर्दै पुलको दुवैतर्फको भागमा स्थानीयले आवतजावत नै गर्न नमिल्ने गरी बन्द गराएका छन् ।

लकडाउनका समय घरमै बस्न आग्रह गरे पनि रातको समयमा पछिल्लो समय वारपार गर्नेको सङ्ख्या बढ्दै जान थालेपछि पुल बन्द गराएको स्थानीय मानबहादुर कुँवरले बताउनुभयो । प्रदेश नम्बर पाँच र गण्डकी प्रदेश जोड्ने पाल्पाको रामपुर र स्याङ्गजाको चापाकोट जोड्ने कालीगण्डकीको सोमरा प्याक्लुक झोलुङ्गे पुल यस क्षेत्रको पुरानो पुल हो । रामपुर र चापाकोट जोड्ने कालीगण्डकीका विभिन्न स्थानमा पुल बने पनि धेरै मानिसले यही पुलबाट आवतजावत गर्ने गर्दछन् ।

बाँकेमा लकडाउन उल्लङ्घन गर्नेलाई लठ्ठी

बाँके– जिल्लाप्रहरी कार्यालय बाँकेले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न मान्छेलाई समात्ने लठ्ठी (म्यान क्याचर स्टिक)को प्रयोग शुरु गरेको छ । लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँके प्रहरी आफैँले ‘म्यान क्याचर स्टिक’ निर्माण गरी प्रयोगमा ल्याएको हो ।

नेपालगञ्जका विभिन्न क्षेत्रबाट ‘म्यान क्याचर स्टिक’ सहित प्रहरी परिचालन गरेर लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेपछि लकडाउन थप प्रभावकारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो ।

पक्राउ परेका व्यक्तिलाई कोरोना भाइरस र लकडाउनका बारेमा एक घण्टा प्रशिक्षण दिएर छाडिएको प्रहरी प्रवक्ता सिंहले बताउनुभयो । व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमा समेत कोरोना सङ्क्रमणको जोखिम बढेपछि ‘म्यान क्याचर स्टिक’को निर्माण गरेर प्रयोगमा ल्याइएको उहाँको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !