१२ चैत्र २०७९, आइतबार

निःशुल्क आँखा शिविरमा ३ सय बढीले पाए ज्योति

प्रकाशित मिति :  26 January, 2023 12:29 pm


काठमाडौँ । कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३ सयभन्दा बढीले नयाँ ज्योति पाएका छन् । नेत्रज्योति संघ अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जलले आँखा शिविर मार्फत ३५८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरेर नयाँ ज्योति पाएका हुन् ।

कपिलबस्तु जिल्लाका बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकासँगको सहकार्यमा छुट्टाछुट्टै शिबिर सञ्चालन गरिएको थियो ।

माघ ६ र ७ गते शिवराज नगरपालिकामा सञ्चालन गरिएको शिविरमा १५६ जनाको मोतिबिन्दुको नि :शुल्क शल्यक्रिया गरिएको थियो भने एक हजार ७४ जनाको आँखाको परीक्षण गरेको संघले जनाएको छ ।

त्यस्तै बुद्धभूमि नगरपालिकामा माघ ९ र १० गते सञ्चालित शिविरमा २०२ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने १ हजार २९४ जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए ।

दुईवटै शिविरमा गरेर ७२२ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको थियो। हेल्पिङ ह्यान्ड इन्टरनेशनलको आर्थिक सहयोगमा दृष्टि दोष न्युनीकरणका लागि उक्त चस्मा वितरण गरिएको चन्दले बताए ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढीआँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !