१५ चैत्र २०८०, बिहिबार

सहिदको सपना पुरा गर्न सबैले हातेमालो गर्नुपर्छः प्रचण्ड

प्रकाशित मिति :  30 January, 2023 8:49 am


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । सहिद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सहिदका सपना पूरा गर्न आह्वान गरेका हुन् ।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित रहेको शुभकामना मन्तव्यमा उल्लेख छ । जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुनेछ भन्ने विश्वास पनि लिएका छन् । “‘सहिदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु”, सन्देशमा भनिएको छ ।

‘तानाशाही र निरङ्कुश व्यवस्थाका विरूद्ध सङ्घर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् सहिदहरूको बलिदानी भएको दिनलाई सहिद दिवसका रूपमा स्मरण गर्दै आएको चर्चा गर्दै माघ १६ का दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन भएको बताएका छन्।

‘“राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरूद्धका चरणबद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, १० वर्षे जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो”, सन्देशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !