ट्राफिक नियम उल्लंघन गर्ने साढे २ सय बढीको लाइसेन्स निलम्बन गर्न सिफारिस
काठमाडौँ । ट्राफिक प्रहरीले २ सय ५९ वटा सवारी लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभागमा पठाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५९ जनाको लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवनमा पठाएको एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
भट्टका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५)पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा निलम्बन गर्न पठाइएको हो।
निलम्बन गर्न पठाइएका सवारी चालकले ३६ पटक सम्म नियम उल्लंघन गरेको पाइएको हो। ३६ , ३०, २८, १९, १८, १७ पटक नियम उल्लंघन गर्नेलाई निलम्बन गर्न पठाएको हो। यस्तै प्रहरीले ९, ७, र ६ पटक नियम उल्लंघन गर्नेहरूको पनि लाइसेन्स निलम्बन गर्न पठाएको छ।
ट्राफिक नियम उल्लंघन गर्नाले सवारी दुर्घटना हुने गरेकाले नियमको पालना गरी सवारी चलाउन भट्टले अनुरोध गरेका छन्।








