१५ चैत्र २०८०, बिहिबार

रास्वपाले गृह नपाए सरकार छाड्ने, अर्को मन्त्रालय लिन प्रधानमन्त्रीकाे आग्रह

प्रकाशित मिति :  31 January, 2023 1:24 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ । मंगलबार रास्वपाका अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उक्त चेतावनी दिएको स्रोतले जनाएको छ ।

सभापति लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने चेतावनी दिएको रास्वपाका एक नेताले बताए ।

रास्वपाले सरकार गठन हुँदा भएको सहमति अनुसार आफूहरूले गृहमन्त्रालयको जिम्मेवारी पाउनुपर्ने अडान राखेको छ ।

सरकार निर्माण गर्दा भएको सहमति अनुसार हामीले गृह मन्त्रालय लिएको हो,“रास्वपा स्रोेतले भन्यो, ‘त्यो पालना नहुने हो भने देशको राजनीति पुस १० मा फर्किन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेको हो ।”

भेटमा प्रधानमन्त्री प्रचण्डले राहदानी सम्बन्धी विवाद कायम रहेको र गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने हुनाले अर्को मन्त्रालय लिन रास्वपा सभापति लामिछानेलाई आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यता प्रधानमन्त्रीनिकट स्रोतका अनुसार रविलाई गृह मन्त्रालय नदिन माओवादीभित्र दबाब बढेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले महत्त्वपूर्ण मन्त्रालय नलिएको भन्दै प्रचण्डमाथि माओवादीभित्रबाटै गृह नछाड्न रास्वपालाई नदिन दबाब आइरहेको छ ।

पुस १० मा एमाले, माओवादी केन्द्र रास्वपा राप्रपा, जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो ।



प्रतिक्रिया दिनुहोस !