सांसद घर्तीको प्रश्न,‘राेल्पामा ६० कि.मि.सडक मात्रै कालोपत्रे छ,सुरक्षित यात्रा रोल्पालीले कहिले गर्ने ?’
काठमाडौँ । सांसद इश्वरी घर्तीले रोल्पाको सडक दुराअवस्थाबारे सरकारको ध्यानकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै घर्तीले रोल्पामा अहिलेसम्म जम्मा ६० किलोमिटर मात्रै सडक कालोपत्रे भएको भन्दै सरकारको ध्यानकर्षण गराएकी हुन् ।
उनले दाङको घोराहीबाट रोल्पाको होलेरी घर्तीगाउँ हुँदै पूर्वी रुकुमको मैकोट जोड्ने २२० किलोमिटर सहीद मार्गलाई सरकारले ४० वर्षअघि घोराही होलेरी चुनवाङ सडक नाम दिइ सुरु गरेपनि अझै कालोपत्रे हुन नसकेको बताईन् ।
सोही सडकखण्डको होलेरी स्वर्गद्वारी सडकखण्ड सरकारले २२ वर्षदेखि सुरु गरेपनि अझै कालोपत्र हुन नसकेको सांसद घर्तीको भनाई थियो ।
उनले भनिन्,“रोल्पाभरी जम्मा ६० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । बाँकी जोखिमपूर्ण सडकबाट कालोपत्रेमा सुरक्षित यात्रा गर्न रोल्पालीहरूले अझै कतिवर्ष पर्खनुपर्ने हाे ?”
अव्यवस्थित सडकमा हुने दिनानुदिन हुने दुर्घटनाले मृत्यु मार्ग जस्तो भएको भन्दै सांसद घर्तीले रोल्पामा पर्यटन र अन्य विकासलाई तिब्र रुपमा अघि बढाउन सबैभन्दा पहिला सडकहरू यथासिघ्र व्यवस्थित र कालोपत्रे गर्न प्रयाप्त बजेटको व्यवस्थाको माग गरिन् ।








