१० पुस २०८२, बिहिबार

जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौं : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  9 February, 2023 4:05 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताए ।

नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, “जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ । त्यसका लागि झण्डै ७० वर्ष लामो संघर्ष गर्नुप¥यो । हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो । संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन् । कतिपय विषयमा बिमति पनि होलान् । तर, हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो ।”

“संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरूरी छ । संविधानको पूर्ण कार्यान्वयनपछि मात्र हाम्रो संविधानमा के कति समस्या र त्रुटिहरू छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ” प्रधानमन्त्रीले भने, “संविधानले भनेको कुरा पहिला लागू गरौँ । त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला । संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन ।”

कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, नेपाली कांग्रेस, नेकपा (एमाले) , नेकपा (माओवादी केन्द्र) लगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !