१२ श्रावण २०८१, शनिबार

उपत्यकाबाहिर मानिसहरु पठाउने निर्णय भएकै थियो तर यसरी झुट् बोल्यो सरकार (प्रमाणसहित)

प्रकाशित मिति :  9 April, 2020 8:20 pm


काठमाडौं २७ चैत ।

कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको निर्णय आयो,‘ भोली र पर्सी काठमाण्डौं उपत्यकामा रहेका नागरिकलाई बाहिर जान दिईने ।’  यो समाचार एकाएक फैलियो ।

काठमाण्डौंमा ज्याला मजदुरी गरेर बसिरहेका तथा निम्न वर्गका मानिसहरु घर जान उत्साहित पनि बने । किन भने अहिले लकडाउनका बेला मजदुरहरु सिराहा सर्लाहीसम्म हिडेर गएका खबर सार्वजनिक भएका छन् ।

खासमा यो प्रस्ताव गृह मन्त्रालयबाटै गएको थियो र उच्चस्तरीय समितिले निर्णय गरेको थियो ।

तर दुई घण्टा नहुँदैन उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको विज्ञप्ति आयो,‘ यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु । ’

हेर्नुहोस्  उपप्रधानमन्त्री पोख्रेलको विज्ञप्ति

भोली र पर्सी ( २८-२९ चैत्र , २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ ।

यस किसिमको कुनै निर्णय नभएको , कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं ।

यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
– ईश्वर पोखरेल
   संयोजक
‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

प्रधानमन्त्री, गृहमन्त्रीका प्रेस सल्लाहकारहरुले पनि कुनै पनि निर्णय भएको छैन भन्दै समाजिक सञ्जालमा पोष्ट गरे ।

तर, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले संयोजक पोख्रेलको विज्ञप्ति आइसकेपछि पनि सवा ६ बजेतिर आफ्नो आधिकारिक फेसबुकमा भोली र पर्सी बाटो खोल्ने निर्णयभएको तर निर्णय फिर्ता भएको स्पष्ट पार्यो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेजमा भनिएको छ ‘लकडाउनका कारण काठमाण्डौं उपत्यकाबाट बाहिरिन खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्चस्तरीय समितिको बैठकले भोली र पर्सी काठमाण्डौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।’

त्यसैलाईमा अपडेट भन्दै भनिएको छ,‘ स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुँनाले भोली र पर्सी काठमाण्डौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।’ हेर्नुहोस् प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजको सूचना :

प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुकमा यो सूचना भइरहेकै बेला गृह मन्त्रालयले अर्को विज्ञप्ति निकाल्यो,‘ बाहिर पठाउने कुनै निर्णय भएको छैन ।’

यतिमात्रै होईन बाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले योहो टेलिभिजनलाई अन्तरवार्ता लिएर भोली र पर्सी आम नागरिकलाई पठाउने निर्णय भएको स्पष्ट जानकारी गराएका छन् । सुन्नुहोस् अन्तवार्ता

प्रदेश र स्थानीय सरकारले निर्णयको विरोध गरेपछि संघीय सरकारको निर्णय दुईघण्टापनि टिकेन तर आफ्नो कमजोरी लुकाउन मिडियालाई आरोप लगाएर उम्कन खोजेका सरकारका मन्त्रीहरुको कमजोरी अर्को एक घण्टापनि टिकेन ।



प्रतिक्रिया दिनुहोस !