नेपालको शिक्षा नीति नै कमजोर भयो : सांसद भण्डारी
काठमाढौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शिक्षा नीति कमजोर भएको बताएका छन् । बुधबार बुधवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै भण्डारीले हामीले बनाएको शिक्षा नै दुई थरी रहेको बताए ।
उनले भने– ‘हाम्रो पाठ्यक्रम, हामीले सञ्चालन गरेको विश्वविद्यालयमा युवाहरू पढ्न जान चाहँदैनन् । हामीले बनाएको शिक्षा २ थरीको छ । धनीले प्राइभेट स्कुल पढ्छ गरिबले सरकारी स्कुल पढ्छ । विश्वमा यस्तो सिस्टम कहाँ छ रु कुन देशमा यो स्थिति छ रु पाठ्यक्रम हामीले समयमा निर्माण गर्न सक्दैनौँ । बनाएका पाठ्यक्रमहरू पनि अनुसन्धानमूलक छैनन् । धेरै वर्षअघि बुढानीलकण्ठ स्कुल जहाँ धनी र गरिबको कुनै वर्ग थिएन । त्यो स्कुललाई पनि हामीले मुलुकभरि फैलाउन सकेनौँ ।’
साथै उनले विश्वमा यति धेरै प्राकृतिक स्रोत र साधनले सम्पन्न देश किन गरिब भएको भन्ने प्रश्न आउने गरेको बताए ।
विश्व कृत्रिम सूर्य बनाउने अवस्थामा पुगेको अवस्थामा ६५ वर्षदेखि नेपाली नेताहरू भने खाना, नाना र छानाको आश्वासन दिँदैमा व्यस्त रहेको बताए ।
‘यति धेरै सांसदहरू, यति धेरै सभासदहरु, यति धेरै मन्त्रीहरू हामी पालेर बसिरहेका छौँ के का लागि?’ भण्डारीले प्रश्न गर्दैै भने ‘आज यो प्रश्न हामीसँग आएको छ । आज हामी गम्भीर बन्न सकेनौँ भने जतिसुकै हामीले गणतन्त्रको कुरा गरे पनि, जतिसुकै आधुनिकताको कुरा गरे पनि, जतिसुकै इतिहासका कुरा गरे पनि, आफ्नो पार्टीलाई जतिसुकै बलियो बनाए पनि अब हामी अगाडि बढ्न सक्ने अवस्थामा छैनौँ ।’








