४ पुस २०८२, शुक्रबार

उद्योगीहरु धैर्यताका साथ अघि बढ्न आवश्यक : मन्त्री चौधरी

प्रकाशित मिति :  15 February, 2023 3:34 pm


काठमाडौँ । उद्योगीहरु धैर्यताका साथ अघि बढ्न आवश्यक रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले बताएकी छन् । नेपाल छाला जुत्ता उत्पादन संघको आयोजनामा आठौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेलाको उद्धघाटन गर्दै मन्त्री चाैधरीले काेभिड १९ को महामारीका कारण थिलो पारेको अर्थतन्त्र पुन : उही अवस्थामा आउन केही समय लाग्ने र यसका लागि उद्योगीहरुले धैर्यका साथ उद्योग धन्दाहरु अघि बढाउन आग्रह गरेकी हुन् ।

उनले भनिन्, “नेपालीमा उत्पादन भएको छालालाई फाल्नुभन्दा त्यसलाई प्रशाेधन गरेर नेपालीपनलाई झल्काउने गरि जुत्ता, चप्पल उत्पादन गरेर नेपालको मागलाई धान्रे र विदेशी तर्फ यसको निर्यात गर्न जरुरी रहेको छ ।’’

मन्त्री चौधरीले नेपालको अर्थतन्त्रमा तरलताको अभावका कारण अधिकांश उद्योगधन्दाहरु बन्द भएका र सरकारले पनि यस्ता समस्यालाई अन्त्य गर्न निति तथा कार्यक्रमहरु ल्याउन लागेको बताइन् । उनले भनिन्, “सरकारले गर्छ भनेर बस्नु भन्दापनि जुत्ता, चप्पल उद्योगीहरुले पनि नयाँ नयाँ प्रविधिहरुको प्रयोग गरेर आत्मनिर्भरमा मात्र नरहेर यसको निर्यात तर्फपनि जान जरुरी रहेको छ ।’’

विगत लामो समयदेखि छालाका जुत्ता उत्पादनसँगै विभिन्र जिल्लामा गएर तालिम समेत प्रदान गर्दै आएको नेपाल छाला जुत्ता उत्पादन संघका अध्यक्ष हरिराम बाेगटीले बताए । उनका अनुसार संघले स्थापना कालदेखि नै देशलाई जुत्ता चप्पल क्षेत्रमा आत्मनिर्भर बनाउनको लागि अहम भूमिका खेल्दै आएको छ । उनले भने, “उद्योगीहरुले आफ्नो तर्फबाट राज्यलाई आत्मनिर्भर बनाउन तर्फ जोड दिएका छन् । त्यसैले सरकारले पनि उद्योगीहरुलाई उद्योगहरु सहज रुपमा संचालन गर्न निति ल्याउन आवश्यक रहेको छ ।’’

मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य रहेको यस मेलाले आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्म निर्भर गराउने संघले विश्वास लिएको छ । पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरिने छ। गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्पद्धारा निर्मित बस्तुहरु पनि प्रर्दशन तथा बिक्री वितरण गरिने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !