११ पुस २०८२, शुक्रबार

नेपाल नेत्रज्योति संघ र सिबिएमबीच सम्झौता, निःशुल्क आँखा तथा कान उपचारमा सहकार्य गर्ने

प्रकाशित मिति :  15 February, 2023 5:24 pm


काठमाडौँ । नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरिबी रेखामुनी रहेका आम नागरिकहरुलाई गुणस्तरीय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाहरुका बीचमा सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्ष चेतराज पन्त र सिबिएम ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गरेका छन् ।

सिबिएम ग्लोबलको सहयोगमा नेत्रज्योति संघको पुर्वाञ्चल क्षेत्रिय आँखा तथा कान उपचार कार्यक्रम मार्फत प्रदेश नम्बर १ र मधेश प्रदेशका सिमान्तकृत समुदायका र गरिबीको रेखामुनी रहेका नागरिकहरुलाई निःशुल्क रुपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिने छ ।

दुई संस्थाहरु बिचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाँढा रहेका सो क्षेत्रका नागरिकहरुलाई आँखा अस्पताल, आँखा उपचार केन्द्रहरु तथा बाह्य कार्यक्रम मार्फत उपचार सेवा प्रदान गरिने संघले जनाएको छ ।

सम्झौता पछि बोल्दै सिबिएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलले नेपालको आँखा उपचार र अन्धोपन नियन्त्रणको क्षेत्रमा गरिरहेका उत्कृष्ट कामकै कारण बिगत ४० बर्षदेखि विभिन्न कार्यक्रम मार्फत नेत्रज्योति संघसँग सहकार्य गरिरहेको भन्दै उनले आगामी दिनहरुमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

हाल कर्णाली प्रदेशमा नेत्रज्योति संघ र सिबिएमको सहकार्यमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम संचालनमा छ । उक्त कार्यक्रमबाट सन् २०२२ मा मात्र ३ हजार ८० जनाको निःशुल्क आँखाको शल्यक्रिया गरेको संघले जनाएको छ ।

त्यस्तै नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !