२० मंसिर २०८२, शनिबार

प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

प्रकाशित मिति :  16 February, 2023 2:53 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीतिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री र ओलीबीचको भेटवार्ता राष्ट्रपति निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार रास्वपाले सरकार छाडेपछि गृहसहित महत्त्वपूर्ण मन्त्रालय रिक्त भएकोले सरकारलाई चाडै पूर्णता दिनको लागि रास्वपालाई पुनः सरकारमै फिर्ता ल्याउने विषयमा छलफल भइरहेको छ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा अविश्वासको बढ्दै गइरहेको बेला बाक्लिएको प्रधानमन्त्री र ओलीबीचको भेटघाटले सार्थकता पाउला कि नपाउला चासोको विषय बनेको छ ।

सरकार निर्माणका बेला राष्ट्रपति एमालेले पाउने सहमति भएपनि पछिल्लो समय प्रधानमन्त्रीले बोली फेर्दा एमाले झस्किएको छ, जसले गर्दा सत्ता गठबन्धनलाई बलियो बनाउन एमाले अध्यक्ष ओलीले सक्दो प्रयास गरिरहेका छन् ।

नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री कांग्रेसतिर लचक बनेका छन् जसले गर्दा राष्ट्रपतिको एक मात्र दावेदार एमाले त्रसित बनेको हो ।

माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ। एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ।



प्रतिक्रिया दिनुहोस !