१० पुस २०८२, बिहिबार

सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छः माधव नेपाल

प्रकाशित मिति :  19 February, 2023 4:05 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनैपनि बेला टुट्नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनैपनि बेला टुट्नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचन पछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ ? भन्ने टुंगो लाग्ने बताए ।

आइतबार काठमाडौँको कीर्तिपुरमा पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै नेपालले सबै पद लिएर राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताए ।

त्यसका लागि अब एक हप्ता मात्रै पर्खे पुग्ने उनकाे भनाइ छ । एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काऊलान् कि भन्ने चिन्ता छाएको नेपालले बताए ।

उनले भने, ”अहिले देखिएकाे गठबन्धनमा राजतन्त्रलाई फेरि ल्याउनुपर्छ भन्ने तत्वहरु पनि छन् प्रतिगामीहरु । संघीयता बिरोधीहरु पनि छन् । अनि त्यहाँ बामपन्थीहरु पनि छन् । संविधान बिरोधीहरु पनि छन् । संविधानका रक्षकहरु पनि छन् । यो भन्दा पहिलाको गठबन्धन कस्तो थियो ? काँग्रेस थियो संविधानको पक्षमा उभिने । वामपन्थीहरु थिए । गणतन्त्रको पक्षमा उभिने । यसरी बाम र लोकतान्त्रिक गठबन्धन थियो । तर चुनाव पनि नयाँ किसिमको शक्ति सन्तुलन भइदियो । नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले । पहिले त केके न गर्ला भन्ने लागेको थियो । नयाँ आए तर घाँडो भए ।”

राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी उनकाे टिप्पणी छ । के–के न गरौँला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको नेपालले आरोप लगाए । अध्यक्ष नेपालले राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरि मण्डलेहरु जाग्न लागेको समेत बताए । उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रिय सदस्य दुर्गा प्रसाईंलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्क समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !