१० पुस २०८२, बिहिबार

राष्ट्रपति निर्वाचनबारे जसपा आन्तरिक छलफलमा

प्रकाशित मिति :  19 February, 2023 5:59 pm


काठमाडाैँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल शुरु गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्दै आएको सो पार्टीले आइतबार केन्द्रिय कार्यकारिणी समितिको बैठक बोलाएर साे विषयमा छलफल शुरु गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभएपनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले बताए । बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको थियो । विधान अधिवेशन र त्यसको समयतालिकासहितको विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता अधिकारीले बताएका छन् ।

उनले भने, ”पार्टीको आजको बैठकमा मुख्यतया पार्टीको विधान अधिवेशन र त्यसको समयहरुको सवाल र समसामयिक राजनीतिका विषयमा छलफल भयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ । पार्टीले यसमा सोचिराखेको छ । त्यसबारेमा अहिले औपचारिक निर्णय भईसकेको छैन । कुनैपनि उम्मेदवारहरुको बारेमा टुंगो पनि लागि सकेको छैन ।”

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नेपालले  उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !