१२ श्रावण २०८१, शनिबार

२ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालमा मुख्यमन्त्री गुरुङको निरीक्षण

प्रकाशित मिति :  10 April, 2020 2:37 pm


बागलुङ,२८ चैत ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरी अञ्चल अस्पताल बागलुङको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा उनले कोरोना भाइरस सङ्क्रमितको उपचारको अवस्था, प्रदान गर्ने सेवा सुविधा, व्यवस्थापकीय क्षमता र अस्पतालका समस्याका बारेमा जानकारी लिएका छन् ।

अस्पतालमा दुई जना सङ्क्रमितले उपचार गराइरहेका छन् ।

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध एकजुट भएर सबै लाग्नुपर्ने आवश्यकता औल्याउँदै कोरोना भाइरसबाट सङ्क्रमितको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई प्रशासनलाई निर्देशन दिए ।

‘प्रदेश सरकारले आवश्यक स्रोत र साधनको व्यवस्था गरेको छ’उनले भने, ‘अस्पतालले बिरामीको उपचार र कोरोना रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ ।’

मुख्यमन्त्री गुरुङले उपचारका क्रममा भएका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि गृहकार्य भइरहेको बताए ।

प्रदेश सरकारले धौलागिरी अस्पताललाई अत्यन्त महत्व दिएर सहयोग गरिरहेको उल्लेख गर्दै उनले सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !