प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति उम्मेदवारका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिंदै जादा दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।यता लोसपाले पनि महन्थ ठाकुरलाई भावी राष्ट्रपति बनाउनुपर्ने माग लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
देउवा निवासमा भएको छलफलमा कांग्रेसबाट सकारात्मक प्रतिक्रिया पाएको लोसपा नेता शरदसिं भण्डारीले बताए । लोसपाका नेताले मंगलबार प्रधानमन्त्री प्रचण्डसँग पनि राष्ट्रपति उम्मेदवारका बारेमा छलफल गरेका थिए ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतदाता नामावली प्रकाशन गर्दैछ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ। फागुन १३ मा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ।








