५ पुस २०८२, शनिबार

पठाओ राइडरले अबदेखि बाइकमा मोबाइल राख्न पाउने

प्रकाशित मिति :  22 February, 2023 12:47 pm


काठमाडौँ । राइड सेयरिङ सेवा दिने चालकहरूले अब आफ्नो सवारी साधनमा मोबाइल स्ट्यान्ड (होल्डर) र हेल्मेट क्यामेरा राख्न पाउने भएका छन्। उच्च अदालत पाटनले मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेटमा क्यामरा राख्न नदिने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ ।

गत भदौदेखि ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड र गो(प्रो क्यामेरा राख्न निषेध गरेको थियो। त्यसरी राख्ने चालकलाई प्रहरीले कारबाही गर्ने बताउँदै सूचना जारी गरेको थियो। सूचनाको पालना नगरी स्ट्यान्ड राख्ने चालकलाई प्रहरीले पाँच सयदेखि २० हजारसम्म जरिवाना तिराउँदै आएको छ।

राइड सेयरिङ कम्पनीका चालक र राइडरले बढीजसो म्याप (बाटोको नक्सा) हेर्न मोबाइलको स्ट्यान्ड प्रयोग गर्थे। तर यसले बढी दुर्घटना निम्त्याएको भन्दै प्रहरी कार्यालयले उक्त गतिविधि गर्न निषेध गरेको थियो। त्यस्तै क्यामेरा राख्दा पनि दुर्घटना बढ्ने गरेको प्रहरी कार्यालयको भनाइ थियो ।

अब भने राइड सेयरिङ सेवा दिने चालकहरूले पुनः बाइक तथा स्कुटरमा मोबाइल स्ट्यान्ड राख्न पाउने भएका हुन्। अदालतले भने यस्तो जरिवाना गर्न रोक्नुपर्ने भन्दै रिट निवेदकले गरेको माग समसामयिक, जायज र कानुन अनुकूल नै देखिएको ठहर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !