राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक
काठमाडाैँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार बिहान १० बजेर सो मतदाता नामावली सार्वजनिक गरेको हो ।
कानूनी व्यवस्था अनुसार संघीय संसदतर्फ ३३१ जना र प्रदेश सभातर्फको ५५० जना गरी सो निर्वाचन प्रयोजनका लागि ८८१ जनाको नामावली सार्वजनिक गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
पाैडेलले अन्तिम नामावली भने फागुन १२ गते अपरान्ह ३ बजेदेखि ४ बजेसम्म सार्वजनिक गर्ने कार्यतालिका रहेको बताएका छन् । आज बिहान ११ बजेबाट फागुन ११ गते (भोलि) १२ बजेसम्म भने सो मतदाता नामावलीमाथि दाबीबिरोध वा नाम छुट भएमा वा कुनै विवरण सच्याउनका लागि उजुरी आह्वान गरिएको छ । फागुन ११ गते १२ बजेपछि सो उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन अधिकृत पौडेलले बताए ।
उनले भने, ”त्यो प्रकाशित मतदाता नामावली अनुसार संघीय संसदतर्फ ३३४ मध्ये ३३१ जना र प्रदेश सभा सदस्यतर्फ ५५० मा ५५० जना नै मतदाता नामावलीमा समावेश छन् । आजैबाट दाबी बिरोध वा नाम छुट भएको वा कुनै विवरण सच्याउनुपर्ने भए त्यसका लागि आजै ११ बजेदेखि भोलि ११ गते १२ बजेसम्म निवेदन दिन सकिन्छ । भोलि १२ बजेपछि हामी जाँचबुझको प्रक्रिया शुरु गर्छौं । अन्तिम मतदाता नामावली फाल्गुन १२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म हामी सार्वजनिक गर्छौं ।”
राष्ट्रपतिको निर्वाचन फागुन २५ गतेका लागि तोकिएको छ । सो निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दिइनेछ । यता, उपराष्ट्रपतिको निर्वाचन भने चैत्र ३ गते हुनेछ ।








