५ पुस २०८२, शनिबार

कलंकी–महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुन्छः मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  23 February, 2023 11:48 am


काठमाडाैँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेका हुन् ।

अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ विस्तार अब चाँडै शुरु हुने सहमति भएकाे बताए । उनले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगञ्जसम्मको सडक पनि अब चाँडै काम शुरु गर्ने सहमति चीन सरकारसँग भएको बताए ।

मन्त्री श्रेष्ठले चिनियाँ राजदूत छन सङसँग मन्त्रालयमा छलफल गरी छटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको बताए। उनले सो सडकखण्डमा भएका समस्याहरूको समाधान भइसकेको र अब निर्वाध रूपमा सडक विस्तार गर्ने काम शुरु हुने प्रतिवद्धता जनाएका छन् । बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरू अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम शुरु गर्ने तयारी रहेको बताए । उनले चीन सरकासँग कलंकीदेखि महाराजगञ्जसम्मको मात्रै सहमति भए पनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक विस्तार गरिदिन पनि आग्रह गरेकाे बताए ।

उनले भने, ”दोस्रो खण्ड चक्रपथ विस्तार गर्ने काम सम्पन्न गर्नुछ । कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ । यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ । त्यसै अनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ । हाम्रो बिचमा मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदुतसँग छलफल गरी छिटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको छ । बिजुलीका पोल र मन्दिरहरू अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिटै हामी काम शुरु गर्ने सहमति भएको छ । सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले कलंकी–कोटेश्वर सडक खण्ड बनेको लामो समयसम्म पनि कलंकी–महाराजगञ्ज सडक निर्माण नभएको भए पनि अब भने तत्काल काम शुरु गर्ने तयारी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !