हिंसा दिवसलाई राष्ट्रिय दिवस मान्ने सरकारको निर्णय दु:खद् : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रूपमा सार्वजनिक विदा दिएकामा असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले फागुन १ गते ‘जनयुद्ध दिवस’ नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताएका हुन् ।
बिहीबार आफ्नो जन्मदिनको अवसर बालकोटस्थित निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गर्दै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नु पर्यो ? भनी प्रश्न समेत गरे । उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको बताए ।
ओलीले भने, ”त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय ग¥यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा चाहीँ सही होइन । सरकारले किन त्यो गर्यो ? आकास्मिक रूपमा त्यो किन गर्नुपर्यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्यो ? त्यो मैले पनि बुझेको छैन । यसले सम्झीसम्झीकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएको जस्तो मात्रै लाग्छ मलाई ।’
उनले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने भन्दै नेपाली जनतामा परस्परमा लडने र लडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने धारणा राखे ।








