२९ माघ २०८२, बिहिबार

मकवानपुरमा हात्तीको आक्रमणबाट तीन दिनमा दुई जनाको ज्यान गयो

प्रकाशित मिति :  24 February, 2023 9:04 am


हेटौंडा । मकवानपुरमा जंगली हात्तीको आक्रमणमा परी पुनः एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणमा परी बकैया गाउँपालिका–५, का ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति ९ बजे बाख्राको खोरमा पाठापाठीलाई दुध खुवाउन गएको समयमा हात्तीको आक्रमणमा परी माझी घाइते भएका थिए ।

उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको थियो । उनको उपचार क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसअघि गत सोमबार हात्तीको आक्रमणमा परी मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । यसैगरी बुधबार राति हेटौंडा–१८, मानेडाँडामा पनि हात्तीको आक्रमणमा परी ३० वर्षीय देव वाइवा घाइते भएका थिए ।



प्रतिक्रिया दिनुहोस !