संविधानको संरक्षण र राष्ट्रियताको संवद्र्धनमा सचेत छुः वरिष्ठ नेता पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवद्र्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताएका छन् ।
शनिबार नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधानको संरक्षण, राष्ट्रियताको संवद्र्धन र जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा आफूलाई आउन लागेको बताए ।
उनले आफ्नो जिम्मेवारीप्रति सचेत रहेको पनि बताए । पौडेलले सबै मिलेर राष्ट्र र संविधानको रक्षा गर्नुपर्ने र वर्तमान राजनीतिक प्रणालीको महत्व सबैले बुझ्नुपर्ने बताए । वर्तमान राजनीतिक प्रणालीमाथि खेलवाड गर्ने प्रयासहरू भइरहेको भन्दै उनले त्यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताए ।
उनले भने,“नेपालको संविधानको भावना र मर्म अंगाल्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रपतिको संविधानको रक्षकको हैसियतको जिम्मेवारी पूरा गर्ने प्रयासमा अहिले मैले प्रथम चरणमा एउटा प्रेरणा पाएको छु ।
अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा जुन अभुतपूर्व अधिकार, अद्वितिय अधिकार सबै जनतालाई प्रदान गरेको छ । त्यसको रक्षा गर्ने चुनौति आएको छ ।”
उहाँले आफूप्रति नेपालको राजनीतिक जगतले अपार स्नेह, सहानुभुति र सद्भाव राखेको अनुभूति आफूले गरेको बताए ।








