१० पुस २०८२, बिहिबार

राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

प्रकाशित मिति :  26 February, 2023 9:04 am


काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । दिउँसो एक बजे बस्ने बैठकमा सम्भावित तीन कार्यसूची छन् ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । राप्रपा सरकारबाट बाहिरिएपछि सो पार्टीका नेताहरूले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्हालेका छन् । सोही जानकारी पनि राष्ट्रिय सभालाई जानकारी गराउने छन् ।

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नेछिन् ।

साथै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !