२९ माघ २०८२, बिहिबार

अर्घाखाँची सिमेन्ट उद्योगमा ४ जना मजदुरको मृत्यु भएको विषय एक महिनासम्म ‘गुपचुप’

प्रकाशित मिति :  27 February, 2023 6:52 pm


रूपन्देही । अर्घाखाँची सिमेन्ट उद्योगमा भएको दुर्घटनामा ४ जनाको मृत्यु र ६ जना घाइते भएको विषय एक महिनासम्म गुपचुप राखेको पाइएको छ ।

रुपन्देहीको सियारी गाउँपालिका वडा नं. २ मा रहेको अर्घाखाँची सिमेन्ट उद्योगको कोल मिलमा गत माघ १६ गते आगलागी हुँदा घाइते भएर विभिन्न अस्पतालमा उपचाररत ४ जनाको विभिन्न समयमा मृत्यु भएको खुलेको हो ।

मृत्यु हुनेमा ३ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन् ।

मृत्यु हुनेमा भारतको उत्तर प्रदेश फनेहपुर ग्राम सेलवन घर भएका ५० वर्षीय जितेन्द्रकुमारको माघ १८ गते, भारत बिहारको गोपालगञ्ज ग्राम घर भएका शसिकान्त कुमार कुसवाहको फागुन २० गते मृत्यु भएको थियो ।

त्यस्तै रुपन्देहीको कोटहीमाइ गाउँपालिका वडा नं. ४ बस्ने ३८ वर्षीय अंगद हरिजनको माघ २२ गते र भारत बिहालको समस्तपुर ग्राम का ४८ वर्षीय श्रीराम सिंहको माघ २१ गते मृत्यु भएको हो । उनीहरूको विभिन्न अस्पतालमा उपचार गराउनेक्रममा मृत्यु भएको हो ।

दुर्घटनाको १ महिनासम्म पनि घटना गुपचुप पारिएको खुलेको छ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी टेकप्रसाद राईले घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन् ।

उनले यसबारे थप बुझ्ने भन्दै अनुसन्धान गर्न निर्देशन दिएको बताए । उद्योग महाप्रबन्धक उद्धव कार्कीले दुर्घटना भएको बताए ।

उनले ४ जनाको मृत्यु र ६ जना घाइते भएको जानकारी दिए । आफूले उद्योग छोड्ने चरणमा रहेको उल्लेख गर्दै उनले भने,“ दुर्घटना भएको हो, ४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए, एउटा काम गर्दा ब्याक फायर भएको थियो तर म पूर्ण जिम्मेवारीमा छैन । ”

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर वि.क. ले दुर्घटना आफू सरुवा भएर आउनुभन्दा पहिलेको भएकाले थप जानकारी नभएको बताए । उनले भने,“म प्रमुख भएर आउनुभन्दा पहिलेको घटना रहेछ । म थप बुझ्छु तर गुपचुप नै भने होइन होला । घाइतेको उपचार पनि भएको रहेछ ।” तर अहिलेसम्म याे घटना सार्वजनिक नभएकाे पिडीत परिवारकाे आराेप छ ।



प्रतिक्रिया दिनुहोस !