१४ बैशाख २०८१, शुक्रबार

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सकृय बन्दै, बैठक बोलाउन सभापति घर्ती आन्तरिक छलफलमा

प्रकाशित मिति :  11 April, 2020 10:33 am


फाइल फोटो

काठमाण्डौं,२९ चैत ।

प्रतिनीधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आफ्नो सकृयता बढाएको छ ।

समिति सभापति जयपुरी घर्तीले अहिले बैठक बस्ने अवस्था नभएपनि सरकारसँग समन्वय गरिरहेको बताएकी छन् । बैशाख ३ गतेपछि पनि लकडाउन थपिने अवस्था आए बैठक बोलाउने गरि छलफल चलाईरहेको सभापति घर्तीको भनाई छ ।

उनले भनिन्,‘अहिले बैठक बस्ने सक्ने अवस्था छैन तर स्वास्थ्य मन्त्री तथा अन्य सरकारी निकायसँग समन्वय भइरहेको छ ।’

लुम्बिनी सञ्चारसँगको कुराकानीमा सभापति घर्तीले बैशाख ३ पछि पनि लकडाउन लम्बिने स्थिति बन्यो भने समितिको बैठक बोलाउने तयारी भइरहेको जानकारी दिईन् ।

उनले भनिन्,‘अहिलेसम्म लिखित भन्दा पनि मौलिक पहल जारी छ, समितिको सभापतिको हैसियतले मैले समन्वय गरिरहेको छुँ तर अब पनि लकडाउन लम्बिने स्थिति बन्यो भने हामीले भिडियो वा अन्य छलफल के हुन्छ हामी बैठक बोलाउँछौ ।’

संसदको अधिवेशन अन्त्य भएका बेला संसदीय समितिलाई सकृय बनाउनुपर्ने आवाज उठिरहदा सभापति घर्तीले समितिलाई सकृय बनाउने तयारी गरेकी हुन् ।

उनले भनिन्,‘नीजि अस्पतालले उपचार गर्न नसक्ने समस्या देखियो, बुटवलमा कोरोना अस्पतालमा एक जनाको मृत्यु भएपछि मैले नै फोन गरेर जानकारी लिएर समस्या समाधानका लागि जोड गरेँ, स्वास्थ्य मन्त्री, स्वास्थ्य सेवा विभागका महानिर्देशकलगायतसँगआवश्यकता अनुसार छलफल र समन्वय भइरहेको छ ।’

पछिल्लो समय कोरोना सन्त्रासका कारण उच्चस्तरीय राजनीतिक संयन्त्र वा संसदीय समिति सकृय बनाउनुपर्ने बहस चलिरहेका बेला सभापति घर्तीले पहल लिएकी हुन् ।

सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने भूमिकाका लागि ‘मिनी पार्लियामेन्ट’ समेत मानिने संसदीय समितिले सरकारलाई निर्देशन तथा राय सल्लाह दिन सक्छ भने राज्यका अन्य निकायका कामकारवाही अध्ययन अनुगमन गरी सचेत पार्ने ध्याकर्षण गराउने काम समेत गर्छ ।

घर्ती सभापति रहेको शिक्षा तथा स्वास्थ्य समितिको कार्यक्षेत्रभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पर्छन् ।

मितिले विशेष गरी नागरिकका आधारभूत आवश्यकताहरु शिक्षा तथा स्वास्थ्यसँग प्रत्यक्ष र परोक्ष रुपमा सरोकार राख्ने विषयहरुको उठान, पहिचान, नियमन र व्यवस्थापन गर्नमा समन्वयात्मक र सहयोगात्मक भूमिका खेल्दछ ।

रोल्पाकी नेतृ समेत रहेकी घर्तीले रोल्पाका स्थानीय निकायबाट आएको निवेदन अनुसार पहल गरेर प्रदेश मार्फत  ३० हजार थान मास्क पठाएको र अन्य थप स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य मन्त्रालय र प्रदेशमा पहल गरेर  समेत पठाएको जानकारी दिईन् ।



प्रतिक्रिया दिनुहोस !