ट्राफिक चेकिङका क्रममा ८७ चालक कारबाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा मापसे गरेर स्कुल बस चलाउने १ जनासहित ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बुधबार बिहान गरेको विशेष चेकिङका क्रममा विविध कसुरमा ८७ जना चालकहरू कारबाहीमा परेका हुन् ।
चेकिङकै क्रममा मापसे गरी सवारी साधन चलाउँदै गरेका १ जना स्कुल बसका चालकलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका २ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने, सवारी साधनको अवस्था ठिक नराख्ने लगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालकहरू पनि कारबाहीमा परेका छन् ।
नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २ र २ र न्यूरोड क्षेत्रमा १ जना गरी २३ जना ट्याङ्करका चालकहरू कारबाहीमा परेका हुन् । यसका साथै अन्य विविध कसुरमा पनि ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न , सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।








